Winning Poem of POETRY COMPETITION (IYD 2018) - धनबहादुर उपाध्यय

By Saurav Luitel
Aug 12, 2018

सरकार,
म धनबहादुर उपाध्यय,
वर्ष २६, M.Sc. Ag गरि आएको छु,
स्वाभिमानको पसिना खान नसकेर,
तिसौं हजार खर्च गरि
GRE, TOEFL गरि आएको छु,
हजुर सरकार, मलाई अमेरिका पठाइदेउ !
मलाई अमेरिका पठाइदेउ !!

म बाँच्दै गर्दा म भित्रको ‘म’ मर्यो भने
म बाँचे के/नबाँचे के सरकार ?
म गल्दैछु, यहाँ मलाई मर्न नदेउ,
बरु मलाई बेचिदेउ !
हजुर सरकार मलाई अमेरिका पठाइदेउ !

संगै पढेका एक हुल साथिहरु
उहिल्यै अमेरिका पुगिसके,
साथिहरु डलरमा ‘रकम’ कमाउँछन,
र रकममा ‘इज्जत’ कमाउँछन !

गाउँभरी हल्ला चलिरहन्छ,
साथिभाइले PR पाएको कुरा
तीनका बा-आमाले खबर पाउँदा
सबेरै झिसमिसे हुन्छ,
डाँडाको बिचमा उदेकलाग्दो भएर उभिएको
सुर्य पनि एक्कासि यस्तो खबरले
अनुहारमा अद्भूत मुस्कान निर्धक्क बोकेर
उनका आगनमा उभिन्छ
र छेक्नेगर्छ मेरो घरको उज्यालो !
घामै नउदाउने घरमा बसेर गर्नु के/नगर्नु के सरकार ?
त्यसैले, बिन्ती मलाई अमेरिकि भिसा लगाइदेउ !

दिनभरि खेतमा काम गरि आएको
किसानको हिलोले खाएको औंलाको काप हेर्दा लाग्छ,
खुट्टा भनेको देश हो,
अनि कापका घाउ तिमि हौ सरकार
हामी किसान त हिलो खाने गर्छौं ,
अनि घाउ खुट्टा खाने गर्छ !

लाग्थ्यो,
मेरि आमा खुसीको चामल पकाउँथिन,
म पसिना सग भात निल्थे
बा-आमा मलाई हेरेर खुशी निल्थे !

तर, होइन रहेछ, खुशी हुन त,
अमेरिकी विश्वविद्यालयको एसेप्टेन्स लेटर चाहिने रहेछ,
खुशी हुन त, हातमा अमेरिकी भिसा र टिकट हुनुपर्दो रहेछ !

खैर, सरकार तक्दिर न हो
म फर्किउँला/नफर्किउँला
यो कुरा यहीँ थाती छाडौं
अहिलेलाई, अमेरिका जान नसकेको भन्दै
ममाथी कमजोर, नालायक व्यक्ति हुँ भनेर
समाजले लान्छना लगाउन अघि
मलाई अमेरिका पठाइदेउ !
स्कुल देखि विश्वविद्यालयसम्म विदेश जाने
योग्य युवायुवती निस्कने कारखानाबाट तयार भएको म
यदि विदेश नै गइदिन भने तिमीलाई समेत अयोग्य भनी
यो समाज ठहर्‍याउँन सक्छ !
त्यसैले सरकार मलाई अमेरिका पठाइदेउ !
बिन्ती सरकार अहिलेलाइ अमेरिकी भिजा लगाइदेउ !!!!!

धनबहादुर उपाध्यय

Join Our Newsletter

It’s so wonderful you’ll be joining our community!